तिनीहरूले तपाईंलाई धोका दिएको, अवज्ञा गरेको र झूटो बोलेको हिसाब हुनेछ

तिनीहरूले तपाईंलाई धोका दिएको, अवज्ञा गरेको र झूटो बोलेको हिसाब हुनेछ

आइशा (रजियल्लाहु अन्हा) ले वर्णन गरेका छन् : एक व्यक्ति रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को अगाडि बस्यो र भन्यो : हे अल्लाहको रसूल! मसँग झूट बोल्ने, विश्वासघात गर्ने र मेरो अवज्ञा गर्ने दुईवटा दासहरू छन् । त्यसैले म उनीहरुलाई गाली र कुटपिट गर्छु । उनीहरुसंग मैले गरेको व्यवहारप्रति के भन्नुहुन्छ ? उहाँले भन्नुभयो: "तिनीहरूले तपाईंलाई धोका दिएको, अवज्ञा गरेको र झूटो बोलेको हिसाब हुनेछ र तपाईंले तिनीहरूलाई दिएको सजायको पनि हिसाब गरिनेछ ।" यदि तपाईंले दिएको सजाय तिनीहरूको पापको बराबर छ भने, तपाईं र तिनीहरू समान रूपमा छुट पाउनुहुनेछ । न तिनीहरुमाथि तपाईंको अधिकार हुनेछ न त तिनीहरुको अधिकार तपाईंमाथि । यदि तपाईंको सजाय तिनीहरूको अपराध भन्दा कम छ भने, तब तपाईं आशिष् पाउनुहुनेछ । यदि तपाईंको दण्ड तिनीहरूका पापहरू भन्दा अत्यधिक छ भने, तिनीहरूको अपराधको बदला तपाईंबाट लिइनेछ ।" (यो सुनेर) त्यो व्यक्ति चर्को स्वरले रुँदै फर्कियो अनि रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: "के तिमी अल्लाहको पुस्तक पढ्दैनौ?" (जसमा लेखिएको छ:) "कयामतको दिन हामी सही तौलको तराजू राख्नेछौं । त्यसपछि कसैमाथि अन्याय हुनेछैन ।" त्यो व्यक्तिले भन्यो: अल्लाहको कसम! हामी एकअर्काबाट अलग हुनु भन्दा अरु केही उपाय छैन । म हजुरलाई गवाह बनाएर भन्दछु : मैले तिनीहरू सबैलाई स्वतन्त्र गरें ।

[जईफ] [तिर्मीजीले वर्णन गरेका छन्]

الشرح

एक व्यक्ति रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को सेवामा आए र आफ्ना दासहरूको खराब व्यवहारको बारेमा गुनासो गर्न थाले, मेरा दासहरूले मसँग झूट बोल्छन्, विश्वासघात गर्छन् र मलाई धोका दिन्छन् । म उनीहरूलाई सही बाटोमा ल्याउन गाली र कुटपिट गर्छु । दासहरूसँग मैले गरेको व्यवहारले गर्दा कयामतको दिन यी मेरो अवस्था कस्तो हुनेछ । उहाँले भन्नुभयो: तिनीहरूले तपाईंलाई धोका दिए, तपाईंको अवज्ञा गरे र तपाईंसँग झूटो बोलेका छन्, त्यसको गणना गरिनेछ र तपाईंले तिनीहरूलाई दिएको सजायको पनि गणना गरिनेछ । यदि तपाईंले दिएको सजाय तिनीहरूको पापको बराबर छ भने, तपाईं र तिनीहरू समान रूपमा छुट पाउनुहुनेछ । न तिनीहरुमाथि तपाईंको अधिकार हुनेछ न त तिनीहरुको अधिकार तपाईंमाथि । यदि तपाईंको सजाय तिनीहरूको अपराध भन्दा कम छ भने, तब तपाईं आशिष् पाउनुहुनेछ । यदि तपाईंको दण्ड तिनीहरूका पापहरू भन्दा अत्यधिक छ भने, त्यसको मूल्य तपाईंबाट लिएर तिनीहरूलाई दिइनेछ । (यो सुनेर) त्यो मानिस चर्को स्वरले रुन थाल्यो । उसको यो अवस्था देखेर रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: "के तिमी कुर्आन पढ्दैनौ?" अल्लाहले भन्नुभएको छ: "कयामतको दिन, हामी सही तौलको तराजू राख्नेछौं । त्यसपछि कसैमाथि अन्याय हुनेछैन । यदि रायोको दाना बराबर भएपनि हामी त्यसलाई जोख्नेछौं । भक्तहरूको हिसाब राख्नको लागि हामी नै पर्याप्तछौं ।" यो सुनेर त्यो व्यक्तिले भन्यो: अल्लाहको कसम! त्यसो भए हामीले एकअर्काबाट अलग हुनुमा नै सबैको भलाइ छ । म हजुरलाई गवाह बनाएर भन्दछु : मैले तिनीहरू सबैलाई अल्लाहको खुशीको लागि स्वतन्त्र गरें, ताकि हामी अल्लाहको अजाब (सजाय) बाट जोगिन सकौं ।

فوائد الحديث

साहबीको सत्यता, किनकि उनले अल्लाहको सजायको डरले आफ्ना दासहरूलाई मुक्त गरे ।

उत्पीडकबाट उसको उत्पीडन बराबर वा कम बदला लिने अनुमति छ, तर उत्पीडन भन्दा बढी अथवा अनुमतिको दुरुपयोग गर्न निषेध गरिएको छ ।

सेवक, कमजोर र अशक्तहरूसँग राम्रो व्यवहार गर्ने प्रोत्साहन ।

التصنيفات

अन्तिम दिनमाथि ईमान, आत्म-शुद्धि, आयतको व्याख्या