धर्म भलाईको नाम हो

धर्म भलाईको नाम हो

तमीम अल-दारी (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "धर्म भलाईको नाम हो "। हामीले सोध्यौ : कसको लागि ? उहाँले भन्नुभयो: "अल्लाह, उहाँको पुस्तक, उहाँका रसूल, मुस्लिम शासकहरू र आम जनताका लागि ।"

[सही] [मुस्लिमले वर्णन गरेका छन्]

الشرح

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले धर्मको आधार वफादारी र इमानदारीमा रहेको बताउनुभएको छ । हरेक काम अल्लाहले अनिवार्य गरे बमोजिम गर्नु पर्छ । यसमा कुनै लापरवाही वा छल गर्नु हुँदैन । भलाई कसको लागि भनेर रसूल (सल्लल्लाहु अलैहि वसल्लम) संग सोधियो अनि उहाँले भन्नुभयो: १) अल्लाहको लागि नसीहत (भलाई) : यसको अर्थ हामीले उहाँको प्रसन्नता प्राप्त गर्नको लागि विशुद्ध रूपमा इबादत गर्नुपर्छ, उहाँसँग कसैलाई साझेदार गर्नु हुँदैन, उहाँको प्रभुत्व र पूजनीय हुनु र उहाँको नाम र गुणहरूमा आस्था राख्नुपर्छ, उहाँको आदेशको सम्मान गर्नुपर्छ र उहाँमाथि ईमान ल्याउन आह्वान गर्नुपर्छ । २) पवित्र कुर्आनको लागि नसीहत (भलाई) : यसको मतलब कुर्आन अल्लाहको वचन हो, उहाँद्वारा पठाइएको अन्तिम धर्म ग्रन्थ हो र यसले अघिल्ला सबै शरीयतहरूलाई रद्द गरेको छ स्वीकार गर्नुपर्छ । साथै, यस पुस्तकको सम्मान गरौं, यसलाई राम्ररी पढौं, यसको मुहकम (स्पष्ट अर्थ) श्लोकहरूको पालना गरौं र मुताशबिह (अस्पष्ट अर्थ) श्लोकहरूलाई स्वीकार गरौं, यसको आर्थलाई हेरफेर र गलत व्याख्या गर्नेहरुको पर्दाफाश गर्नुपर्छ । यसबाट ज्ञान सिक्नुपर्छ, यसको शिक्षालाई सर्वत्र फैलाउनुपर्छ र यसलाई स्वीकार गर्न मानिसहरूलाई आमन्त्रित गर्नुपर्छ । ३) रसूल मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) को लागि नसीहत (भलाई) : यसको अर्थ हामीले उहाँलाई अन्तिम सन्देशवाहकको रुपमा विश्वास गर्नुपर्छ, उहाँले ल्याउनुभएको शिक्षालाई सत्य मान्नुपर्छ, उहाँका आदेशहरूको पालना गर्नुपर्छ, उहाँका निषेधित चीजहरूबाट टाढा रहनुपर्छ र उहाँका निर्देशनहरूको पालना गर्नुपर्छ । अल्लाहको उपासना उहाँले बताउनुभएको तरिका अनुसार मात्र गर्नुपर्छ । उहाँलाई सम्मान गर्नुपर्छ, उहाँको निमन्त्रणा सर्वत्र फैलाउनु पर्छ । उहाँको शरियालाई मान्न आह्वान गर्नुपर्छ र उहाँमाथि लगाइएको आरोपहरूको खण्डन गर्नुपर्छ । ४) मुस्लिम शासकहरूप्रति सद्भाव : यसको अर्थ उनीहरूलाई सही काममा सहयोग गर्नु, उनीहरूविरुद्ध विद्रोह नगर्नु र जबसम्म उनीहरू अल्लाहको आदेश अनुसार काम गरिरहेका छन् उनीहरूलाई मान्नु र आदेशको पालना गर्नुपर्छ । ५) आम मुस्लिमहरूका लागि नसीहत (भलाई) : यसको अर्थ उनीहरूसँग राम्रो व्यवहार गर्नु, उनीहरूलाई असल काम गर्न आह्वान गर्नु, उनीहरूलाई दुःखबाट बचाउनु, उनीहरूको कल्याणको कामना गर्नु र धार्मिक कुराहरुमा उनीहरूको साथ र सहयोग गर्नु हो ।

فوائد الحديث

सबैको लागि नसीहत (भलाई) को आदेश ।

धर्ममा परोपकारको ठूलो स्थान छ ।

धर्म भनेको आस्था, वचन र कर्ममा आधारित हुनुपर्छ ।

परोपकार र नसीहत गर्दा आफूलाई छल इत्यादिबाट शुद्ध पार्नुपर्छ र साथै उसको कल्याणको मनसाय हुनुपर्दछ ।

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को सिकाउने सबैभन्दा राम्रो तरिका भनेको पहिले कुनै कुरालाई संक्षिप्त रूपमा बयान गर्नु र त्यसपछि व्याख्या गर्नु हो ।

कुनै कुराको वर्णन गर्दा तिनको महत्वलाई ध्यानमा राखेर सबैभन्दा महत्त्वपूर्णबाट सुरुवात गर्नुपर्छ । त्यसैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले पहिले अल्लाहको परोपकारको उल्लेख गर्नुभयो, त्यसपछि अल्लाहको पुस्तकको परोपकार, त्यसपछि अल्लाहको दूतको परोपकार, त्यसपछि मुस्लिम शासकहरूको सद्भाव र त्यसपछि आम मुस्लिमहरूको सद्भावको उल्लेख गर्नुभयो ।

التصنيفات

आफ्ना प्रजाहरूमा इमामको अधिकार