'ती मानिसहरूलाई के भएको हो, जसले यस्तो र त्यस्तो कुरा गर्न थालेका छन्? म त राति नमाज पनि पढ्छु र सुत्छु पनि; म उपवास…

'ती मानिसहरूलाई के भएको हो, जसले यस्तो र त्यस्तो कुरा गर्न थालेका छन्? म त राति नमाज पनि पढ्छु र सुत्छु पनि; म उपवास पनि बस्छु र कहिलेकाहीँ बस्दिन पनि; र म महिलाहरूसँग विवाह पनि गर्छु। तसर्थ, जो मेरो सुन्नत (तरिका) बाट विमुख हुन्छ, ऊ मबाट (मेरो अनुयायी) होइन।'

अनस (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, "नबी (सल्लल्लाहु अलैहि वसल्लम) का केही सहाबाहरूले उहाँका श्रीमतीहरूसँग उहाँको गोप्य (एकान्तको) उपासनाको बारेमा सोधे। (उत्तर सुनेर) उनीहरूमध्ये एकजनाले भने: 'म विवाह नै गर्दिन।' अर्काले भने: 'म मासु खान छोडिदिन्छु।' र अर्को एकजनाले भने: 'म कहिल्यै ओछ्यानमा सुत्दिन।' (जब यो कुरा नबी (सल्लल्लाहु अलैहि वसल्लम) लाई थाहा भयो), उहाँले अल्लाहको प्रशंसा गर्नुभयो र भन्नुभयो: 'ती मानिसहरूलाई के भएको हो, जसले यस्तो र त्यस्तो कुरा गर्न थालेका छन्? म त राति नमाज पनि पढ्छु र सुत्छु पनि; म उपवास पनि बस्छु र कहिलेकाहीँ बस्दिन पनि; र म महिलाहरूसँग विवाह पनि गर्छु। तसर्थ, जो मेरो सुन्नत (तरिका) बाट विमुख हुन्छ, ऊ मबाट (मेरो अनुयायी) होइन।'"

[सही] [मुत्तफकुन अलैहि]

الشرح

केही सहाबीहरू नबी (सल्लल्लाहु अलैहि वसल्लम) का श्रीमतीहरूको घरमा आए। तिनीहरूको उद्देश्य नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले घरभित्र कसरी उपासना गर्नुहुन्छ भनी जान्नु थियो। जब उनीहरूलाई उहाँको उपासनाको बारेमा बताइयो, मानौँ तिनीहरूले यसलाई कम ठाने र भने: "कहाँ रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को उच्च स्थान, र कहाँ हाम्रो अवस्था ? उहाँका अघिल्ला र पछिल्ला सबै क्षमा गरिएका छन्। तर हाम्रो अवस्था त्यस्तो होइन; हामीलाई क्षमा प्राप्त हुनेछ कि हुनेछैन भन्ने कुरा निश्चित छैन। त्यसैले, हामीले अल्लाहको क्षमा प्राप्तिको आशामा अधिकाधिक उपासना र सत्कर्ममा प्रयासरत रहनुपर्छ।" त्यसपछि, तिनीहरूमध्ये एकले भन्यो, "म विवाह नै गर्दिन। अर्कोले भन्यो, "म त अब मासु खानै छोडिदिन्छु।" कसैले भन्यो, "म त ओछ्यानमा सुत्ने नै छैन।" जब नबी (सल्लल्लाहु अलैहि वसल्लम) लाई यो कुरा थाहा भयो, उहाँले आफ्नो असन्तुष्टि व्यक्त गर्नुभयो। उहाँले मानिसहरूलाई सम्बोधन गर्नुभयो र अल्लाहको प्रशंसा गर्दै भन्नुभयो: "मानिसहरूलाई के भएको छ, जसले यस्ता कुराहरू गरिरहेका छन्?! अल्लाहको कसम! म तिमीहरू सबैभन्दा बढी अल्लाहको भय राख्ने र सबैभन्दा निष्ठावान् धर्मी व्यक्ति हुँ; तर यसका बाबजुद म राति सुत्दछु पनि, ताकि पूर्ण उर्जाका साथ तहज्जुद (रात्रि नमाज) को नमाज पढ्न सकूँ। म भोजन पनि गर्दछु ताकि व्रत बस्न बल मिलोस्, र म महिलाहरूसँग विवाह पनि गर्दछु। तसर्थ, जसले मेरो सत्मार्ग (सुन्नत) बाट विमुख हुन्छ वा अर्को मार्गलाई उत्तम ठानी त्यसको अनुशरण गर्दछ, ऊ मबाट (मेरो अनुयायी) होइन।"

فوائد الحديث

यसले देखाउँछ कि साहबाहरू असल कर्महरूलाई कति माया गर्थे, राम्रो कर्म गर्न कति तत्पर रहन्थे र आफ्ना नबी (सल्लल्लाहु अलैहि वसल्लम) को अनुसरण गर्न कति इच्छुक थिए।

इस्लामी कानुनको सहिष्णुता र सहजता रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को कर्म र शिक्षाबाट प्रष्ट हुन्छ।

नबी (सल्लल्लाहु अलैहि वसल्लम) को मार्गनिर्देशनको पालना र उहाँको उच्च चरित्रको अनुसरणमा कल्याण र बर्कत छ।

आफ्नो क्षमताभन्दा बढी उपासना (इबादत) को बोझ बोक्न निषेध गरिएको छ र यस प्रकारको अतिवाद बिदअती (धर्ममा नवाचार ल्याउने) हरूको मुख्य विशेषता हो भनेर उल्लेख गरिएको छ।

इब्न हजरले भन्नुभएको छ: "उपासनामा धेरै कडाई गर्नाले मानिस थाक्छ र दिक्क हुन्छ, जसले गर्दा उसले उपासना नै पूर्ण रूपले छोडिदिने डर हुन्छ। अर्कोतर्फ, केवल फर्ज (अनिवार्य) कार्यहरूमा मात्र सीमित रहनु र नफिल (ऐच्छिक) नमाज वा उपासनाहरू छोड्नुले अल्छिपना बढाउँछ र इबादतप्रतिको उत्साह घटाइदिन्छ। त्यसैले, सबैभन्दा उत्तम कुरा मध्यम र सन्तुलित मार्ग अपनाउनु हो।"

यसमा अग्रजहरूको अनुकरण गर्न उनीहरूको अवस्थाबारे जानकारी लिन प्रोत्साहन दिइएको छ। यदि पुरुषहरूद्वारा जानकारी लिन असम्भव भएमा महिलाहरूबाट पत्ता लगाउन अनुमति छ।

यसमा उपदेश, ज्ञानसम्बन्धी विषयहरूको प्रस्तुति, उत्तरदायी व्यक्तिहरू (मुकल्लफिन) का लागि धार्मिक नियमहरूको स्पष्टीकरण, तथा उपासनमा प्रयत्नशील व्यक्तिहरूका शङ्काहरूको निवारण समावेश छ।

यस हदीसले उपासनामा सहजता र सन्तुलन अपनाउन निर्देशन दिन्छ। साथै, यसले फर्ज (अनिवार्य) र नफ्ल (ऐच्छिक) दुवै प्रकारका उपासनाहरूलाई निरन्तरताका साथ सम्पन्न गर्न प्रेरित गर्दछ, ताकि एक मुस्लिमले मानिसहरूका अधिकारहरूप्रति आफ्नो जिम्मेवारी निर्वाह गर्न सकोस्।

यस हदीसले विवाहको महत्त्वलाई स्पष्ट रूपमा उजागर गर्दै वैवाहिक जीवन अपनाउन विशेष प्रोत्साहन प्रदान गर्दछ।

التصنيفات

नबीको तरिका