इस्लाम भनेको अल्लाह बाहेक कोही सत्य पूज्य छैन र मुहम्मद अल्लाहका सन्देष्टा हुनुहुन्छ भन्ने गवाही दिनु, सलाह कायम…

इस्लाम भनेको अल्लाह बाहेक कोही सत्य पूज्य छैन र मुहम्मद अल्लाहका सन्देष्टा हुनुहुन्छ भन्ने गवाही दिनु, सलाह कायम गर्नु, जकात दिनु, रमजानको रोजा राख्नु र सक्षम व्यक्तिले अल्लाहको घरमा हज गर्नु हो

उमर बिन खत्ताब (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन् : "एक दिन हामी अल्लाहको रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को साथमा बसिरहेका थियौं, अचानक एक जना मानिस देखा पर्‍यो, उनको लुगा धेरै सेतो र कपाल धेरै कालो थियो । उनको शरीरमा यात्राको कुनै प्रभाव देखिएन र हामी मध्ये कसैले पनि उनलाई चिन्न सकेनौं । उनी रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को अगाडि बसे र आफ्नो घुँडालाई उहाँको घुँडामा जोडेर आफ्नो दुवै हत्केला उहाँको तिघ्रामा राखे र प्रश्न सोधे: ए मुहम्मद! मलाई इस्लामको बारेमा बताउनुहोस् ? तब अल्लाहको रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले जवाफ दिनुभयो : “इस्लाम भनेको अल्लाह बाहेक कोही सत्य पूज्य छैन र मुहम्मद अल्लाहका सन्देष्टा हुनुहुन्छ भन्ने गवाही दिनु, सलाह कायम गर्नु, जकात दिनु, रमजानको रोजा राख्नु र सक्षम व्यक्तिले अल्लाहको घरमा हज गर्नु हो ।” उनले भने : हजुरले सही जवाफ दिनु भयो । हामी आश्चार्य चकित भयौं, यो कस्तो प्रकारको व्यक्ति हो, प्रश्न पनि सोध्छ र उत्तर पनि सही हो भन्छ । उनले फेरि सोधे : मलाई ईमानको बारेमा बताउनुहोस् ? उहाँले जवाफ दिनुभयो: “अल्लाह, उहाँका फरिश्ता (स्वर्गसन्देष्टा) हरू, उहाँका पुस्तकहरू, उहाँका रसूल (सन्देशवाहक) हरू र अन्तिम दिनमा विश्वास गर्नु तथा राम्रो नराम्रो भाग्य (तकदीर) मा विश्वास गर्नु भनेको ईमान हो ।” उनले भने : हजुरले सही जवाफ दिनु भयो । उनले फेरि सोधे : मलाई एहसानको बारेमा बताउनुहोस् ? तब उहाँले ले जवाफ दिनुभयो: "अल्लाहको आराधना यसरी गर, मानौं तिमी उहाँलाई देख्दैछौ । यदि तिमी अल्लाहलाई देखेको कल्पना गर्न सक्दैनौ भने उहाँले तिमीलाई देखिरहनुभएको छ ।" उनले फेरि सोधे : कयामत कहिले आउँछ? उहाँले ले जवाफ दिनुभयो: “जोसँग प्रश्न सोधिएकोछ उ सोध्ने व्यक्ति भन्दा बढी जान्दैन ।” फेरि उनले सोधे : त्यसो भए कयामतको संकेतको बारेमा बताउनुहोस् ? उहाँले ले जवाफ दिनुभयो: “दासहरूले आफ्ना मालिकहरूलाई जन्म दिन थाल्नेछन्, खाली खुट्टा, नाङ्गो शरीर, गरिब र बाख्राका गोठालाहरू अग्लो-अग्लो महलहरूमा गर्व गर्नेछन् ।” त्यसपछि त्यो व्यक्ति गयो । केही क्षणपछि उहाँले मलाई सोध्नुभयो: ए उमर ! “तिमीलाई थाहा छ यो प्रश्न सोध्ने व्यक्ति को थियो?" मैले भने अल्लाह र उहाँको रसूल राम्रो जान्नुहुन्छ । उहाँले ले भन्नुभयो : उनी जिब्रील थिए, तिमीहरूलाई तिम्रो धर्म सिकाउन आएका थिए ।”

[सही] [मुस्लिमले वर्णन गरेका छन्]

الشرح

उमर बिन खत्ताब (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, जिब्रील (अलैहिस्सलाम) एक अपरिचित व्यक्तिको रूपमा सहाबा (साथी) हरू कहाँ आए । उनका केही विशेषताहरू भनेको उनको लुगा धेरै सेतो थियो र कपाल धेरै कालो थियो । उनको शरीरमा थकान, धुलो छरिएको कपाल र फोहोर लुगा जस्ता यात्राको कुनै प्रभाव देखिएन । त्यहाँ उपस्थित कसैले पनि उनलाई चिन्न सकेनन् । त्यतिबेला सहाबा (साथी) हरू अल्लाहको रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को छेउमा बसिरहेका थिए । उनी एक विद्यार्थी जस्तै उहाँको अगाडि बसे र त्यसपछि इस्लामको बारेमा प्रश्न गरे अनि उहाँले इस्लामको पाँच स्तम्भ; शहादह (दुवै गवाही), दैनिक पाँच सलाह (नमाज) को स्थापना, हकदार व्यक्तिहरूलाई जकात दिने, रमजान महिनाको रोजा राख्ने र सक्षम व्यक्तिले हज गर्ने । जवाफ सुनेपछि प्रश्नकर्ताले भने: तपाईंले सत्य बोल्नुभयो । यो देखेर सहाबा (साथी) हरू आश्चर्यचकित भए, उनले सोध्दा थाहा छैन भनेर देखाउँदछ, तर भनेको कुराको पुष्टि पनि गर्दै छ । त्यसपछि उनले उहाँलाई ईमानको बारेमा सोधे, उहाँले ईमानका छवटा निम्न स्तम्भहरूको बारेमा जवाफ दिनुभयो; अल्लाहको अस्तित्व र उहाँका गुणहरूमा विश्वास गर्नु, उहाँ सृष्टि लगायत हरेक कामहरूमा एक्लै हुनुहुन्छ र उहाँको मात्र उपासना गर्नु । अल्लाहले प्रकाशबाट सृष्टि गर्नुभएको फरिश्ता (स्वर्गदूत) हरू उहाँका आदरणीय सेवकहरू हुन्, जसले अल्लाहको अवज्ञा गर्दैनन् र उहाँका आदेशहरू पालना गर्छन् भनी विश्वास गर्नु । अल्लाहबाट पैगम्बरहरूका लागि पठाइएका आकाशीय ग्रन्थहरू जस्तै कुर्आन, तोराह र इन्जिल आदिमा आस्था राख्नु । त्यसैगरी सम्पूर्ण दूतहरूमा विश्वास राख्नु, जस्तैः नूह, इब्रहीम (अब्राहाम), मोशा, येशू तथा अन्य दूतहरू र अन्तिम दूत मुहम्मद (सल्लल्लाहु अलैहि वा सल्लम) हुनुहुन्छ । अन्तिम दिनमा विश्वास गर्नु, जसमा मृत्यु पछि बर्जख (चिहान) को जीवनमा विश्वास, साथै मृत्युपछि मानिस पुनरुत्थान हुनेछ र त्यसको लेखाजोखा हुनेछ र कर्म अनुसार वासस्थान; स्वर्ग वा नर्क हुने कुरामा विश्वास । अल्लाहले आफ्नो पूर्व ज्ञान र बुद्धि अनुसार सबै चीजहरू अघि नै लेखिनुभएको छ र पछि ती सबै चीजहरू उहाँको मनसाय र उहाँको भविष्यवाणी अनुसार हुन्छन् भन्ने तथ्यमा विश्वास राख्नु । त्यसपछि उनले एहसानको बारेमा सोधे, अनि उहाँले भन्नुभयो, एहसान भनेको अल्लाहलाई देखेको जस्तो गरी उपासना गर्नु, यदि यो बिन्दुमा पुग्न सक्दैन भने, अल्लाहले उसलाई हेर्दै हुनुहुन्छ सोचेर अल्लाहको उपासना गर्नु । यहाँ पहिलो स्थान दर्शन हो, जुन उच्च हो र दोस्रो स्थान मनमा ध्यान हो । त्यसपछि उनले कयामत कहिले आउँछ, सोधे ? अनि उहाँले जवाफमा भन्नुभयो, कयामतको ज्ञान ती चीजहरू मध्ये एक हो जसको ज्ञान अल्लाहले सुरक्षित राख्नुभएको छ । त्यसैले यसको बारेमा कसैलाई थाहा छैन । नत प्रश्न सोध्नेलाई, नत जवाफ दिनेलाई । त्यसपछि उनले कयामतका संकेतहरू बारे सोधे, अनि उहाँले जवाफ दिनुभयो, दास र तिनीहरूको गर्भबाट धेरै बच्चाहरू जन्मिनेछन् वा बच्चाहरू आफ्ना आमाहरूको धेरै अवज्ञाकारी हुनेछन् र उनीहरूलाई दासहरू जस्तै व्यवहार गर्नेछन् । अर्को चिन्ह के छ भने अन्तिम दिनहरूमा बाख्रा चराउने गोठाला र भिखारीहरूलाई ठूलो मात्रामा सम्पत्ति दिइनेछ र तिनीहरूले एकअर्कालाई आफ्नो सुन्दर र बलियो भवनहरूको बारेमा घमण्ड गर्नेछन् । अन्तमा, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, प्रश्न सोध्ने व्यक्ति जिबरील थिए, जो सहाबहरूलाई इस्लाम सिकाउन आएका थिए ।

فوائد الحديث

नबी (सल्लल्लाहु अलैहि वसल्लम) को उच्च आचरण र आदर्श जीवन, उहाँ आफ्ना साथीहरू संगै घुलमिल भएर बस्नुहुन्थ्यो र उनीहरु पनि उहाँसंग बस्ने गर्थे ।

प्रश्नकर्तासँग नम्रतापूर्वक व्यवहार गर्नुपर्छ र उसलाई आफ्नो नजिक बस्न दिने प्रेरणा, ताकि उसले बिना कुनै डर र हिचकिचाहट सोध्न सकोस् ।

शिक्षकसँग शिष्ट व्यवहार गर्नुपर्छ, जसरी जिबरील रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को अगाडि आदरपूर्वक बसेका थिए, ताकि उनी उहाँबाट ज्ञान प्राप्त गर्न सकून् ।

इस्लामका पाँच स्तम्भहरू र ईमानका छवटा आधारहरू छन् ।

जब इस्लाम र इमान दुबै शब्दहरू एकसाथ आउँछन्, तब इस्लामलाई बाह्य चीजहरूको सन्दर्भमा व्याख्या गरिनेछ र इमानलाई आन्तरिक चीजहरूको सन्दर्भमा व्याख्या गरिनेछ ।

दीन (धर्म) का फरक-फरक स्तरहरू छन् । पहिलो : इस्लाम, दोस्रो : ईमान र तेस्रो : इहसान, जुन उच्चतम हो ।

प्रश्न सोध्नेलाई ज्ञान हुँदैन र अज्ञानताका कारण प्रश्न सोध्नु स्वभाविक कुरा हो । त्यसैले उनको प्रश्न र उत्तरको पुष्टिले गर्दा साहबहरु छक्क परेका थिए ।

कुराहरू वर्णन गर्दा सबैभन्दा महत्त्वपूर्णबाट सुरु गर्नुपर्छ । त्यसैले इस्लामको व्याख्या गर्दा दुवै गवाहीबाट सुरु गरिएको थियो र आस्थाको व्याख्या गर्दा अल्लाहमाथिको आस्थाबाट सुरु गरिएको थियो ।

धर्मगुरु र विद्वानसँग यस्ता कुराहरू सोध्न सकिन्छ, जुन प्रश्नकर्तालाई थाहा छ, ताकि अरूलाई पनि थाहा होस् ।

कयामत कहिले आउँछ भन्ने जानकारी अल्लाहले आफैसँग सुरक्षित राख्नु भएको छ ।

التصنيفات

अकीदा