तिमी जहाँ भए पनि अल्लाहसँग डराऊ, नराम्रो काम गरेपछि राम्रो काम गर्ने गर ताकि त्यो मेटियोस् र मानिसहरूसँग राम्रो…

तिमी जहाँ भए पनि अल्लाहसँग डराऊ, नराम्रो काम गरेपछि राम्रो काम गर्ने गर ताकि त्यो मेटियोस् र मानिसहरूसँग राम्रो व्यवहार गर।

अबू जर्र; जुनदुब बिन जुनादा र अबू अब्दुर्रहमान; मुआज बिन जबल (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: "तिमी जहाँ भए पनि अल्लाहसँग डराऊ, नराम्रो काम गरेपछि राम्रो काम गर्ने गर ताकि त्यो मेटियोस् र मानिसहरूसँग राम्रो व्यवहार गर।"

[قال الترمذي: حديث حسن] [तिर्मीजीले वर्णन गरेका छन्]

الشرح

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले तीन कुराको आदेश दिनुभएको छ: पहिलो: हरेक स्थान, समय, परिस्थिति, गोप्य र सार्वजनिक रूप, कल्याण र कठिनाइको समयमा अल्लाहसँग डराउनु र यो अनिवार्य कार्यहरू गरेर र निषेधित कार्यहरूबाट टाढा रहेर प्राप्त हुन्छ। दोस्रो: यदि कुनै दुष्कर्ममा लिप्त भइयो भने, त्यसलगत्तै नमाज, दान, भलाइ, नातेदारी जोड्ने, तौबा (पश्चात्ताप) वा यस्तै अन्य कुनै असल कार्य गर्नु, किनकि असल कार्यले नराम्रो कार्यलाई मेटाइदिन्छ। तेस्रो: मानिसहरूसँग असल आचरण र उत्कृष्ट चरित्रका साथ व्यवहार गर्नु, जसमा मुस्कुराएर भेट्नु, नरम व्यवहार, नम्रता, भलाइ फैलाउनु र कसैलाई हानि नपुऱ्याउनु जस्ता कुराहरू समावेश छन्।

فوائد الحديث

यसमा अल्लाहको आफ्ना भक्तहरूप्रतिको दया, माफी, क्षमाशीलता तथा कृपाको व्याख्या गरिएको छ।

हदीसले तीन प्रकारका अधिकारहरू समेटेको छ:

अल्लाहको अधिकार — तक्वा (धार्मिक भय) द्वारा,

आफ्नो आत्माको अधिकार — पापपछि राम्रो काम गरेर,

र मानिसहरूको अधिकार — सुसंस्कार र राम्रो व्यवहारद्वारा।

खराब कार्यपछि असल कार्य गर्न प्रोत्साहन गर्नु र राम्रो चरित्र अपनाउनु तक्वा (धर्मपरायणता) को विशेषताहरूमध्ये पर्दछन्, तर यसको स्पष्ट व्याख्या आवश्यक भएकाले यसलाई अलग्गै उल्लेख गरिएको हो।

التصنيفات

राम्रो आचरण