अल्लाहले अघिल्ला र पछिल्ला सबै मानिसहरूलाई एउटा ठूलो, समतल मैदानमा भेला गर्नुहुनेछ, जहाँ पुकार्नेको आवाज…

अल्लाहले अघिल्ला र पछिल्ला सबै मानिसहरूलाई एउटा ठूलो, समतल मैदानमा भेला गर्नुहुनेछ, जहाँ पुकार्नेको आवाज सबैसम्म पुग्नेछ, हेर्नेले सबैलाई देख्नेछ र सूर्य धेरै नजिक हुनेछ। मानिसहरूले असहनीय दुःख र पीडाको सामना गर्नेछन्।

अबु हुरैराह (रजिअल्लाहु अन्हु) बाट वर्णित छ। उहाँले भन्नुभयो: अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को समक्ष मासु प्रस्तुत गरियो र उहाँलाई (पशुको) अघिल्लो खुट्टाको माथिल्लो भागको मासु दिइयो, जुन उहाँलाई मन पर्थ्यो। उहाँले त्यसबाट एक टुक्रा टोक्नुभयो र त्यसपछि भन्नुभयो: "कियामतको दिन म मानिसहरूको अगुवा (सरदार) हुनेछूँ। के तिमीहरूलाई थाहा छ यो किन हुनेछ? अल्लाहले अघिल्ला र पछिल्ला सबै मानिसहरूलाई एउटा ठूलो, समतल मैदानमा भेला गर्नुहुनेछ, जहाँ पुकार्नेको आवाज सबैसम्म पुग्नेछ, हेर्नेले सबैलाई देख्नेछ र सूर्य धेरै नजिक हुनेछ। मानिसहरूले असहनीय दुःख र पीडाको सामना गर्नेछन्। त्यसैले मानिसहरूले एकअर्कालाई भन्नेछन्, 'के तिमीहरू कति समस्यामा छौ भनेर देख्दैनौ? तिमीहरू किन त्यस्तो व्यक्ति खोज्दैनौ जसले पालनकर्ता अल्लाहसामु तिमीहरूको लागि मध्यस्थता गर्न सकोस्?' त्यसपछि तिनीहरू एकअर्कालाई भन्नेछन्, 'आदम (अलैहिस्सलाम) कहाँ जाऊ।' तसर्थ तिनीहरू आदम (अलैहिस्सलाम) कहाँ आउनेछन् र भन्नेछन्: 'तपाईं मानवजातिका पिता हुनुहुन्छ। अल्लाहले तपाईंलाई आफ्नै हातले सृष्टि गर्नुभयो, त्यसपछि तपाईंमा आत्मा हाल्नुभयो र फरिश्ताहरूलाई सज्दा गर्न आदेश दिनुभयो, तसर्थ तिनीहरूले तपाईंको अगाडि सज्दा गरे। हाम्रा लागि आफ्नो पालनकर्तासँग सिफारिस गर्नुहोस्। के हजुरले हामी कति दुःखमा छौँ भनेर देख्नुहुन्न? हाम्रो दुःख कति बढेको छ?' आदम (अलैहिस्सलाम) ले भन्नुहुनेछ: 'आज हाम्रो पालनकर्ता धेरै क्रोधमा हुनुहुन्छ। उहाँ पहिले कहिल्यै यति रिसाउनुभएको थिएन, न त फेरि कहिल्यै रिसाउनुहुनेछ। उहाँले मलाई रूखको फल खानबाट मनाही गर्नुभयो, तर मैले त्यो खाएँ। मलाई आफ्नो बारेमा चिन्ता छ, मलाई आफ्नो बारेमा चिन्ता छ, मलाई आफ्नो बारेमा चिन्ता छ। तिमीहरू अरू कसैकहाँ जाऊ, तिमीहरू नूहकहाँ जाऊ।' मानिसहरू नूह (अलैहिस्सलाम) कहाँ आउनेछन् र भन्नेछन्: 'हे नूह! तपाईं पहिलो दूतका रूपमा पृथ्वीमा आउनुभयो र अल्लाहले तपाईंलाई आफ्नो कृतज्ञ सेवक भन्नुभएको छ। आफ्नो पालनकर्तासँग हाम्रा लागि सिफारिस गर्नुहोस्। हामी कष्टमा छौँ भनेर देख्नुहुन्न?' उहाँले भन्नुहुनेछ: 'मेरो पालनकर्ता आज धेरै रिसाउनुभएको छ। योभन्दा पहिले कहिल्यै उहाँ यति रिसाउनुभएको थिएन र अब कहिल्यै रिसाउनुहुने पनि छैन। वास्तवमा मलाई एउटा विशेष प्रार्थना गर्ने अधिकार थियो, तर मैले यसलाई आफ्नै समुदायको विरुद्धमा प्रयोग गरेँ। म आफ्नो बारेमा चिन्तित छु, म आफ्नो बारेमा चिन्तित छु, म आफ्नो बारेमा चिन्तित छु। तिमीहरू मबाहेक अरू कसैकहाँ जाऊ, इब्राहिम (अलैहिस्सलाम) कहाँ जाऊ।' यो सुनेर सबै मानिसहरू इब्राहिम (अलैहिस्सलाम) कहाँ आउनेछन् र भन्नेछन्, 'हे इब्राहिम! तपाईं अल्लाहका नबी र पृथ्वीका सबै मानिसहरूमध्ये उहाँका मित्र हुनुहुन्छ। कृपया हाम्रा लागि सिफारिस गर्नुहोस्। के तपाईंले देख्नुहुन्न हामी कति दुःखमा छौँ?' तर उहाँले तिनीहरूलाई यो भन्नुहुनेछ, 'मेरो पालनकर्ता आज यसरी क्रोधित हुनुभएको छ कि यसअघि उहाँ कहिल्यै यसरी क्रोधित हुनुभएको थिएन र यसपछि पनि कहिल्यै यसरी क्रोधित हुनुहुने छैन। र (संसारमा) मैले तीन पटक फरक कुरा बोलेको थिएँ। म आफ्नो बारेमा चिन्तित छु, म आफ्नो बारेमा चिन्तित छु, म आफ्नो बारेमा चिन्तित छु। तिमीहरू मबाहेक अरू कसैकहाँ जाऊ, मूसा (अलैहिस्सलाम) कहाँ जाऊ।' त्यसपछि उनीहरू मूसॉकहाँ जानेछन् र भन्नेछन्, 'हे मूसॉ! तपाईँ अल्लाहका रसूल हुनुहुन्छ। अल्लाहले तपाईँलाई आफ्नो सन्देश र आफूसँग कुराकानी गर्ने सौभाग्य प्रदान गरेर मानिसहरूमाझ श्रेष्ठता दिनुभयो। हाम्रा प्रभुको अगाडि हाम्रो लागि सिफारिस गरिदिनुहोस्। के तपाईँ हाम्रो यो अवस्था देखिरहनुभएको छैन?' मूसॉले भन्नुहुनेछ, 'निश्चय नै मेरा प्रभु आज यसरी क्रोधित हुनुभएको छ कि यसअघि उहाँ कहिल्यै यसरी क्रोधित हुनुभएको थिएन र यसपछि पनि कहिल्यै यसरी क्रोधित हुनुहुने छैन। र मबाट (संसारमा) एउटा यस्तो व्यक्तिको हत्या हुन गएको थियो, जसको हत्या गर्ने आदेश मलाई दिइएको थिएन। मलाई आज आफ्नै चिन्ता छ, आफ्नै चिन्ता छ, आफ्नै चिन्ता छ! तिमीहरू अरू कसैकहाँ जाऊ, तिमीहरू मर्यमका पुत्र ईसा (अलैहिस्सलाम) कहाँ जाऊ।' त्यसपछि सबैजना ईसा (अलैहिस्सलाम) कहाँ जानेछन् र भन्नेछन्, 'हे ईसा! तपाईं अल्लाहका रसूल र उहाँले मर्यम (अलैहस्सलाम) तिर पठाउनुभएको वचन हुनुहुन्छ। तपाईं उहाँबाट पठाइएको आत्मा हुनुहुन्छ र काखे बालक भएर मानिसहरूसँग बोल्नुभएको छ। हाम्रा लागि आफ्नो पालनकर्तासमक्ष मध्यस्थता गर्नुहोस्, हामी साह्रै समस्यामा छौँ।' ईसा (अलैहिस्सलाम) ले भन्नुहुनेछ, 'आज मेरो पालनकर्ता धेरै रिसाउनुभएको छ। उहाँ पहिले कहिल्यै यति रिसाउनुभएको थिएन, न त कहिल्यै रिसाउनुहुनेछ।' ईसा (अलैहिस्सलाम) ले कुनै पापको उल्लेख गर्नुहुनेछैन। यद्यपि उहाँले अवश्य भन्नुहुनेछ: 'म आफ्नो बारेमा चिन्तित छु, मलाई आफ्नो बारेमा चिन्ता छ, मलाई आफ्नो बारेमा चिन्ता छ। तिमीहरू मबाहेक अरू कसैकहाँ जाऊ, तिमीहरू मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) कहाँ जाऊ।' मानिसहरू मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) कहाँ जानेछन् र भन्नेछन्: 'हे मुहम्मद! तपाईं अल्लाहका नबी र अन्तिम रसूल हुनुहुन्छ। अल्लाहले तपाईँका अघिल्ला र पछिल्ला सम्पूर्ण कुराहरू क्षमा गरिदिनुभएको छ। कृपया अल्लाहको सामु हाम्रा लागि मध्यस्थता गर्नुहोस्। के तपाईं देख्नुहुन्न कि हामी कति दुःखी छौँ?' तसर्थ म अघि बढ्नेछु र अर्शको तल गई मेरो सर्वशक्तिमान र महान् पालनकर्तालाई सज्दा (ढोग) गर्नेछु। त्यसपछि अल्लाहले मेरो हृदयमा प्रशंसा र महिमाका यस्ता शब्दहरू हालिदिनुहुनेछ, जुन मभन्दा पहिले कसैको हृदयमा कहिल्यै आएको थिएन। मैले त्यसै अनुसार अल्लाहको प्रशंसा र महिमा गर्नेछु। त्यसपछि भनिनेछ: 'हे मुहम्मद! आफ्नो टाउको उठाउनुहोस्। माग्नुहोस्, तपाईंलाई दिइनेछ; सिफारिस गर्नुहोस्, तपाईंको सिफारिस स्वीकार गरिनेछ।' अनि म आफ्नो टाउको उठाएर भन्नेछु: 'हे मेरो पालनकर्ता! मेरो समुदायमाथि दया गर्नुहोस्। हे मेरो पालनकर्ता! मेरो समुदायमाथि दया गर्नुहोस्। हे मेरो पालनकर्ता! मेरो समुदायमाथि दया गर्नुहोस्।' त्यसपछि भनिनेछ: 'हे मुहम्मद! तपाईंको उम्मतका ती मानिसहरूलाई जसको हिसाबकिताब हुनेछैन, दाहिने ढोकाबाट स्वर्गमा प्रवेश गराउनुहोस्; तिनीहरू अन्य ढोकाहरूबाट अन्य मानिसहरूसँग पनि स्वर्गमा प्रवेश गर्न सक्छन्।' त्यसपछि उहाँले भन्नुभयो: 'म कसम खान्छु त्यस अल्लाहको, जसको हातमा मेरो जीवन छ! स्वर्गका दुई ढोकाहरू बीचको दूरी मक्का र हिमयर ठाउँ बीचको दूरी बराबर छ, अथवा मक्का र बुसरा बीचको दूरी बराबर छ।'"

[सही] [मुत्तफकुन अलैहि]

الشرح

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) आफ्ना साथीहरूसँग खानाको निमन्त्रणामा थिए र उहाँलाई असाध्यै मन पर्ने अघिल्लो खुट्टाको मासु (पाखुराको भाग) प्रस्तुत गरियो। उहाँले आफ्नो दाँतले त्यसलाई टोक्नुभयो र त्यसपछि उनीहरूसँग कुरा गर्दै भन्नुभयो: "कयामतको दिन म आदमका सन्तानहरूको अगुवा हुनेछु।" र उहाँले यो कुरा अल्लाहको अनुग्रहको चर्चा र कृतज्ञता व्यक्त गर्नका लागि भन्नुभयो। त्यसपछि उहाँले भन्नुभयो: "के तिमीहरूलाई थाहा छ यो किन हो? कारण के हो भने, प्रलयको दिन (कयामत) मा मानिसहरूलाई एक विशाल, समतल र पूर्ण रूपमा फैलिएको भूमिमा एकत्रित गरिनेछ। त्यहाँ उपस्थित सबै मानिसहरूलाई पुकार्ने व्यक्तिको आवाज स्पष्ट सुनिनेछ र हेर्ने व्यक्तिको नजरले उनीहरू सबैलाई देख्न सक्नेछ, उनीहरूमध्ये कोही पनि लुकेको रहने छैन; किनकि भूमि समतल भएकाले त्यहाँ हेर्नेहरूबाट लुक्न सकिने कुनै ओत वा आवरण हुने छैन र नजरले सबैलाई देख्न सक्नेछ। यदि कुनै व्यक्तिले बोल्यो भने, अन्तिम व्यक्तिसम्मै पनि उसको आवाज पुग्नेछ र नजरले सबैलाई देख्न सक्नेछ। त्यस बेला सूर्य अत्यन्त नजिक — एक 'मील' को दुरीमा — आउनेछ। मानिसहरू असह्य चिन्ता, महासंकट र पीडाले ग्रस्त हुनेछन्, जसलाई उनीहरूले सहन र थाम्न सक्ने छैनन्। त्यसैले तिनीहरू मध्यस्थता (शफाअत) मार्फत मुक्ति खोज्नेछन्। त्यस अवस्थामा महान् अल्लाहले आस्थावानहरूको हृदयमा यो कुरा हालिदिनुहुनेछ कि उनीहरू मानवजातिका पिता आदमकहाँ जाऊन्। अनि उनीहरू आदमकहाँ जानेछन् र उहाँको श्रेष्ठताको स्मरण गराउँदै, सम्भवतः उहाँले अल्लाहको सामुन्ने उनीहरूका लागि सिफारिस गरिदिनुहुनेछ भन्ने आशा राख्दै भन्नेछन्: 'तपाईँ आदम हुनुहुन्छ, मानवजातिका पिता; अल्लाहले तपाईँलाई आफ्नै हातले सृष्टि गर्नुभयो, आफ्ना फरिश्ताहरूलाई तपाईँको अगाडि ढोग्न (सज्दा गर्न) लगाउनुभयो, तपाईँलाई प्रत्येक वस्तुको नाम सिकाउनुभयो र तपाईँमा आत्मा फुक्नुभयो।' तर उहाँले असमर्थता व्यक्त गर्दै भन्नुहुनेछ: 'आज मेरा प्रभु यसरी क्रोधित हुनुभएको छ कि यसअघि उहाँ कहिल्यै यसरी क्रोधित हुनुभएको थिएन र यसपछि पनि कहिल्यै यसरी क्रोधित हुनुहुने छैन।' त्यसपछि उहाँले अल्लाह द्वारा निषेधित रुखको फल खान गल्ती याद गर्नुहुनेछ। अनि उहाँले भन्नुहुनेछ: 'आज म आफैँ सिफारिसको पात्र छु, मलाई आफ्नै चिन्ता छ, तिमीहरू अरू कसैकहाँ जाऊ, तिमीहरू नूहकहाँ जाऊ।' अनि तिनीहरू नूहकहाँ आउनेछन् र भन्नेछन्: 'तपाईँ धर्तीका बासिन्दाहरूका तर्फ अल्लाहले पठाउनुभएको पहिलो रसूल (सन्देशवाहक) हुनुहुन्छ, र अल्लाहले तपाईँको नाम 'अब्दन शकूरा' (अत्यन्त कृतज्ञ दास) राख्नुभएको छ।' तर उहाँले असमर्थता व्यक्त गर्दै भन्नुहुनेछ: 'निश्चय नै अल्लाह अज्ज व जल्ल आज यसरी क्रोधित हुनुभएको छ कि यसअघि कहिल्यै यसरी क्रोधित हुनुभएको थिएन र यसपछि पनि कहिल्यै यसरी क्रोधित हुनुहुने छैन। र मलाई एउटा (विशेष) प्रार्थना (दुआ) को अधिकार दिइएको थियो, जुन मैले आफ्नै कौम (समुदाय) को विरुद्धमा गरिसकेँ। आज म स्वयंलाई नै सिफारिस (शफाअत) को आवश्यकता छ; तिमीहरू मबाहेक अरूकहाँ जाऊ, तिमीहरू इब्राहिमकहाँ जाऊ।' त्यसपछि तिनीहरू इब्राहिमकहाँ आउनेछन् र भन्नेछन्: 'तपाईँ धर्तीमा अल्लाहका खलिल (परम मित्र) हुनुहुन्छ, हाम्रा लागि आफ्ना प्रभुको समक्ष सिफारिस गरिदिनुहोस्; के तपाईँ हाम्रो यो (कष्टकर) अवस्था देखिरहनु भएको छैन?!' तब उहाँले तिनीहरूलाई भन्नुहुनेछ: 'निश्चय नै मेरा प्रभु आज यसरी क्रोधित हुनुभएको छ कि यसअघि कहिल्यै यसरी क्रोधित हुनुभएको थिएन र यसपछि पनि कहिल्यै यसरी क्रोधित हुनुहुने छैन। र मैले (आफ्नो जीवनमा) तीन पटक त्यस्ता कुराहरू बोलेको थिएँ जो पूर्ण सत्य थिएनन्; ती हुन्— उहाँको यो भनाइ: 'म बिरामी छु', उहाँको यो भनाइ: 'यो कार्य यीमध्येका सबैभन्दा ठूला (मूर्ति) ले गरेका हुन्', र उहाँले आफ्नी पत्नी सारालाई उनको दुष्टताबाट बचाउनका लागि भन्नुभएको यो कुरा: 'म तिम्रो भाइ हुँ भनी भनिदिनू।' तर वास्तविक सत्य के हो भने, ती तीनवटै भनाइहरू संकेतात्मक वा द्वयार्थक (मआरिज अल-कलाम) थिए, तर ती शब्दहरूको रूप झूटजस्तै देखिएको कारण आफूलाई अयोग्य ठान्दै भयभीत हुनुभयो; किनभने जो व्यक्ति अल्लाहलाई जति बढी चिन्दछ र उहाँदेखि नजिक हुन्छ, उसको मनमा उति नै बढी डर हुन्छ। त्यसैले उहाँले भन्नुहुनेछ: 'आज म स्वयंलाई नै सिफारिसको आवश्यकता छ; तिमीहरू मबाहेक अरूकहाँ जाऊ, तिमीहरू मूसाकहाँ जाऊ।' अनि उनीहरू मूसा (अलैहिस्सलाम) कहाँ जानेछन् र भन्नेछन्: "हे मूसा! तपाईँ अल्लाहका रसूल (सन्देशवाहक) हुनुहुन्छ, अल्लाहले तपाईँलाई आफ्नो सन्देश र आफ्नो संवाद (कुराकानी) द्वारा मानव जातिमाथि श्रेष्ठता प्रदान गर्नुभयो। हाम्रा प्रभुको समक्ष हाम्रा लागि सिफारिस (शफाअत) गरिदिनुहोस्; के तपाईँ हाम्रो यो अवस्था देखिरहनु भएको छैन?!" तब उहाँले भन्नुहुनेछ: "निश्चय नै मेरा प्रभु आज यति धेरै क्रोधित हुनुभएको छ कि यसअघि उहाँ कहिल्यै यस्तो क्रोधित हुनुभएको थिएन र यसपछि पनि कहिल्यै यस्तो क्रोधित हुनुहुने छैन। अनि मबाट एउटा यस्तो ज्यानको हत्या भएको थियो, जसको हत्या गर्ने मलाई आदेश दिइएको थिएन। आज म आफैँलाई सिफारिसको आवश्यकता छ; तिमीहरू म बाहेक अरू कसै कहाँ जाऊ, तिमीहरू मर्यमका छोरा ईसा कहाँ जाऊ।" त्यसपछि उनीहरू ईसा ( येशू अलैहिस्सलाम) कहाँ आउनेछन् र भन्नेछन्: "हे ईसा! तपाईं अल्लाहका रसूल र उहाँको त्यो वचन (कलिमा) हुनुहुन्छ, जसलाई उहाँले मर्यमतर्फ पठाउनुभयो र उहाँकै तर्फबाट एक आत्मा (रूह) हुनुहुन्छ; र तपाईंले शिशु अवस्थामै कोखाबाट मानिसहरूसँग कुराकानी गर्नुभएको थियो। हाम्रा प्रभुको समक्ष हाम्रा लागि सिफारिस गरिदिनुहोस्; के तपाईंले हाम्रो यो अवस्था देखिरहनुभएको छैन?!" तब उहाँले भन्नुहुनेछ: "निश्चय नै मेरा प्रभु आज यति धेरै क्रोधित हुनुभएको छ कि यसअघि उहाँ कहिल्यै यसरी क्रोधित हुनुभएको थिएन र यसपछि पनि कहिल्यै यसरी क्रोधित हुनुहुनेछैन।" र उहाँले आफ्नो कुनै पापको उल्लेख गर्नुहुनेछैन (अनि भन्नुहुनेछ): "आज म आफैं सिफारिसको आवश्यकतामा छु; तिमीहरू मबाहेक अरू कुनै कहाँ जाऊ, तिमीहरू मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) कहाँ जाऊ।" त्यसपछि मानिसहरू मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) कहाँ आउनेछन् र भन्नेछन्: "हे मुहम्मद! तपाईँ अल्लाहका रसूल र अन्तिम सन्देशवाहक (खातमुन् अम्बिया) हुनुहुन्छ र अल्लाहले तपाईँका अघिल्ला र पछिल्ला सबै कुराहरू क्षमा गरिदिनुभएको छ। हाम्रा प्रभुको समक्ष हाम्रो लागि सिफारिस गरिदिनुहोस्; के तपाईँ हाम्रो यो अवस्था देखिरहनुभएको छैन?!" तब म अर्श (सिंहासन) मुनि आउनेछु र आफ्ना सर्वशक्तिमान् एवं महान् पालनकर्तालाई सज्दा (ढोग) गर्नेछु। त्यस समय अल्लाहले मेरो हृदयमा उहाँको प्रशंसा र उत्तम महिमागानका यस्ता शब्दहरू हाल्नुहुनेछ, जुन यसअघि उहाँले मभन्दा पहिले कसैको हृदयमा पनि हाल्नुभएको थिएन। त्यसपछि भनिनेछ: "हे मुहम्मद! आफ्नो टाउको उठाउनुहोस्; माग्नुहोस्, तपाईँलाई दिइनेछ र सिफारिस गर्नुहोस्, तपाईँको सिफारिस स्वीकार गरिनेछ।" तब म आफ्नो शिर उठाउनेछु र भन्नेछु: "हे मेरा पालनकर्ता! मेरो उम्मत (समुदाय), हे मेरा प्रभु! मेरो उम्मत, हे मेरा प्रभु! मेरो उम्मत।" अनि उहाँको शिफाअत (मध्यस्थता) स्वीकार गरिनेछ। र उहाँलाई भनिनेछ: हे मुहम्मद! तपाईँको उम्मतमध्येका ती मानिसहरूलाई—जसको कुनै हिसाब-किताब लिनु पर्ने छैन—स्वर्गका ढोकाहरूमध्ये दाहिने ढोकाबाट प्रवेश गराउनुहोस्; र उनीहरू त्यो बाहेकका अन्य ढोकाहरूबाट मानिसहरूसँग स्वर्गमा प्रवेश गर्न सक्छन्। त्यसपछि रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: "म कसम खान्छु त्यस अल्लाहको जसको हातमा मेरो जीवन छ! स्वर्गका दुई ढोकाहरू बीचको दूरी मक्का र यमनको सन्आ बीचको दूरी बराबर छ, वा मक्का र सिरियाको बुस्रा शहर (हौरानको एक शहर) बीचको दूरी जत्तिकै छ।

فوائد الحديث

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) विनम्र हुनुहुन्थ्यो, निमन्त्रणा स्वीकार गर्नुहुन्थ्यो र आफ्ना सामान्य साथीहरूसँग खाना खानुहुन्थ्यो।

यसबाट हाम्रा रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई सम्पूर्ण मानव जातिमाथि श्रेष्ठता प्रदान गरिएको कुरा स्पष्ट हुन्छ।

काजी अयाजले भन्नुभएको छ: "भनिएको छ कि— 'सय्यद' (अगुवा /सरदार) त्यो व्यक्ति हो जो आफ्नो जाति वा समुदायमा सबैभन्दा श्रेष्ठ हुन्छ र विपद् वा संकटको समयमा मानिसहरू मद्दतका लागि उसैतर्फ फर्कन्छन्। र नबी (सल्लल्लाहु अलैहि वसल्लम) यस संसार र परलोक (आखेरत) दुवैमा उनीहरूका सय्यद हुनुहुन्छ। उहाँले विशेष रूपमा कियामतको दिन बारे उल्लेख गर्नुको कारण के हो भने, त्यस दिन उहाँको सर्वोच्चता र नेतृत्व पूर्ण रूपमा प्रकट हुनेछ, सबैले उहाँको नेतृत्वलाई स्वीकार गर्नेछन्, र आदम (अलैहिस्सलाम) र उनका सम्पूर्ण सन्तानहरू नबी (सल्लल्लाहु अलैहि वसल्लम) को झण्डामुनि एकत्रित हुनेछन्।"

अल्लाहले मानिसहरूलाई आदम र उनीपछिका नबीहरूसँग सुरुमा सिफारिस (मद्दत) माग्ने प्रेरणा दिनु र हाम्रा नबी मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) सँग सिधै माग्ने प्रेरणा नदिनुको पछाडिको रहस्य नबी (सल्लल्लाहु अलैहि वसल्लम) को श्रेष्ठता प्रदर्शन गर्नु हो; किनभने उहाँ उच्च दर्जा र अल्लाहको चरम सामीप्यताको सर्वोच्च शिखरमा हुनुहुन्छ।

यदि कुनै व्यक्तिबाट केही काम छ भने, माग्नु भन्दा पहिले उसको सबैभन्दा राम्रो गुणहरूको प्रशंसा गर्नु उचित हुन्छ; यसरी अनुरोध स्वीकार हुन सम्भावना बढी हुन्छ।

यदि कुनै व्यक्ति कुनै काम गर्न असमर्थ छ भने, आफ्नो असमर्थताको जायज कारण प्रस्तुत गर्नु उसको लागि अनुमति छ। साथै, उसले त्यो काम गर्न आफूभन्दा बढी सक्षम व्यक्तितर्फ मार्गदर्शन गर्नु पनि राम्रो र प्रशंसनीय कार्य मानिन्छ।

यस हदीसले कयामतको दिन मानिसहरूलाई एकत्रित गरिने अवस्थाको भयावहता, त्यस दिनका कठिन परिस्थितिहरू तथा त्यसको गम्भीरतालाई स्पष्ट रूपमा चित्रण गर्दछ।

यसमा नबीहरूको विनम्रताको स्पष्ट वर्णन छ, जसमा उनीहरूले आफ्ना विगतका कुराहरू स्मरण गरे; ताकि उनीहरूले आफू यस उच्च पद वा अवस्थाको योग्य नरहेको महसुस गर्न सकून्।

यसमा कयामतको दिनमा हुने 'शफाअत-ए-उज्मा' (महान् मध्यस्थता) को प्रमाण छ, जुन सम्पूर्ण सृष्टिबीचको फैसलाका लागि हुनेछ।

यसमा रसूल (सल्लल्लाहु अलैहि वसल्लम) का लागि 'वसीला' र प्रशंसित स्थान (मक़ामे महमूद) को प्रमाण छ।

अल्लाहको महिमा र प्रशंसा कहिल्यै समाप्त हुँदैन; त्यसैले (कयामतको दिन) अल्लाहले आफ्ना प्रिय रसूलको हृदयमा आफ्नो स्तुति एवं प्रशंसा गर्ने यस्तो अद्वितीय र सर्वोत्कृष्ट शब्दहरू हालिदिनुहुनेछ, जुन उहाँभन्दा पूर्व यस धर्तीमा अन्य कसैको हृदयमा पनि हाल्नुभएको थिएन।

यसमा मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) को उम्मत (मुस्लिम समुदाय) सम्पूर्ण समुदायहरूमा सर्वश्रेष्ठ रहेको कुरा स्पष्ट पारिएको छ। स्वर्गमा प्रवेश गर्ने सन्दर्भमा उनीहरूका लागि विशेष अधिकारहरू छन्; केही व्यक्ति बिना हिसाबकिताब विशेष ढोकाबाट प्रवेश गर्नेछन् भने बाँकी ढोकाहरूमा उनीहरू अन्य मानिसहरूसँगै सहभागी हुनेछन्।

التصنيفات

आखिरतको जीवन